जिवछ यादव
लहान ( सिरहा) / लहानको मुख्य चोकदेखि दुई किलोमिटर पश्चिम भोटियाटोल चोकमा खुलेका आधा दर्जन होटेलमा घाँगी खान बेलुका भिड लागेको हुन्छ । घाँगी खाने रहर जाग्यो भने ‘लौ जाऊँ घाँगी खान भोटियाटोल’ भन्ने भनाइ नै छ।
उमेश साह र दिनेश साहले एक दशकभन्दा बढी समयदेखि भोटियाटोलमा चलाइरहेको होटेलमा अहिले घाँगीको खपत पहिलेको तुलनामा ह्वातै बढेको छ । उमेश भन्नुहुन्छ, “यहाँका आधा दर्जन होटेलमा दिनको एक क्विन्टल घाँगी खपत भइरहेको छ । स्थानीय र छिमेकी जिल्लाबाट आउने घाँगीले पुग्थ्यो, अहिले भारतको विहारबाट समेत घाँगी, मगाउनु परिरहेको छ।”
“प्रतिप्लेट ७० रुपियाँका दरमा होटेलमा खान रमाइने घाँगी भारतको विहारबाट ५० रुपियाँ किलोमा मगाउनु परिरहेको छ,” अर्का होटेल सञ्चालक देनेशको भनाइ छ । लहान-११, १२ र २२ पडरिया गोटियाटोल र सिसवनीमा थारू समुदायको बाक्लो वस्ती रहेकाले घाँगी पकाउन थालियो तर अहिले अरु मात्रै होइन, अन्य समुदायको पनि घाँगी खाने हरुले यसको माग बढ्दै जान थालेको होटेल सञ्चालकको अनुभव छ।
भोटियाटोलनजिकै रहेको धार्मिक पर्यटकीय सलहेस फूलबारी क्षेत्र र उत्तर सरस्वती नदीमा जति पनि पाइन्थ्यो। अहिले स्थानीय घाँगी पाउन छाडेपछि भारत विहारबाट समेत घोंगी आयात गर्नुपर्ने अवस्था आएको समाजसेवी अजय चौधरीको भनाइ छ।
उहाँका अनुसार हातखुट्टा दुख्ने र कमजोरी महसुस भए घाँगी खाने चलन थारू समुदायमा छ। यसलाई अन्य समुदायले समेत अपनाएका छन्। यसको उत्पादनका लागि लहान नगरपालिकाले कार्यक्रम ल्याउनुपर्ने र माछा उत्पादनमा लागेका कृषकलाई यसबारे प्रशिक्षित गराउनुपर्ने आवश्यकता छ ।
उमेश होटेलमा भर्खरै दुई दिनअघि निर्वाचित नेपाल पत्रकार महासङ्घका सिराहा शाखाका उपाध्यक्ष रोयाण्टर मण्डललाई जितका अवसरमा आफ्ना सहयोगी पत्रकारलाई लिएर भोटियाटोलमा घाँगी खाइरहेको भेटियो। बजारमा ठुला होटेल हुँदा पनि किन साथीहरूसँग घाँगी खान यहाँ आइपुग्नुभयो भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, “भोटियाटोलको प्याजी र घाँगी निकै मन पर्छ। मांसाहारीका लागि भोटियाटोलको घाँगी अति मन परेकाले यहाँ आएका छौँ। सस्तो, स्वादिष्ट र कम खर्चमा यहाँ सन्तुष्ट भइन्छ।”
साउन/भदौमा पाइने घाँगीलाई पोखरीमा राखेर जाडो महिनामा खपत गर्नेमा आफ्नो ध्यान गइरहेको लहान-१२ का वडाध्यक्ष तथा लहान नगरपालिकाका कृषि शाखाका संयोजक बद्रीनारायण चौधरीले बताउनुभयो ।
उहाँले यसको उपयोग, विशेषता र प्रभावकारिताबारे विशेष कार्यक्रम ल्याउने तयारीमा रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “लहान-१५, बानोमा पर्यटकका लागि सञ्चालनमा ल्याइएको ‘होमस्टे’ मा पनि घाँगीको माग बढेको छ। यसले थारू समुदाय र लहानको पहिचानमा समेत वृद्धि भएको छ।”