खगेन्द्र संग्रौला
साेनम सिक्री तान्दै ट्याक्सीबाट ओल्र्यो । उसका पछिपछि करुण आवाजमा कुइँकिदै निस्क्यो, उसको मालिकको कुकुर । कुकुर जङ्गी थियो, पुलुक्क हेर्दैमा सातो जालाजस्तो । अनि नाउँ पनि उस्तै जण्ड थियो– ब्रान्ट ।
पाथमा उभिएर सोनामले वातावरण नियाल्यो । उसको जिउ त्यसै–त्यसै चङ्गा भएर आयो र मन भयो आनन्दले फुरुङ्ग । कुकुरको गोठालो भएरै भए पनि महिनौँपछि आज उसले खुला हावामा चैनको सास फेर्न पायो ।
आँखा ठोक्किने ठाउँमा धेरै पर सुलुत्त उठेको डाँडो छ । डाँडामा छ मनमोहक हरियाली । उसले मुन्टो उठाएर उचाइतिर आँखा हुर्यायो । माथि छ निलो आकाशको अनन्त विस्तार । माथि हेर्दै सोनाम आनन्दविभोर भयो । उसलाई कतै उडुँ कि कतै गुडुँ कि लाग्यो । मालिकका दरबारका चार पर्खालभित्रको झ््यालखानबाट बाहिर निस्कन पाउँदा उसलाई फुक्कापनको बयान गरिनसक्नु चैनको अनुभूति भयो ।
सोनाम ब्रान्टलाई डोर्याउँदै पशु डाक्टरको क्लिनिकभित्र पस्यो । सबैका आँखा ब्रान्टतिर खिचिए— त्यहाँ भएका कुकुरका पनि, ती कुकुरका गोठालाका पनि । क्लिनिक कुलीन हैसियतको थियो । उसो त त्यहाँ दबाईमुलो गर्न ल्याइएका कुकुर पनि त कुलीनै घरानाका थिए । ब्रान्टको अजङ्गको जिउडाल र विराट् व्यक्तित्व देखेर अरू कुकुर डरले थरहरी भए । पुच्छर टाँगामुनि लुकाएर ती कुइँकुइँ गर्न थाले । ब्रान्टले शानले जगर फुलायो र अहंकारले मैमत्त भई आलोपालो गरी तिनलाई हेर्यो । त्यसरी जसरी अत्याचारी राजाले आफ्नो बढाइँ गर्न फुटपाथमा लस्करै उभ्याइएका रैतीहरूलाई हेर्छ ।
ब्रान्टको विरल व्यक्तित्व देखेर विपीनबाबु मुग्ध भयो । विपीन ठुलो मानिस थियो– पहिलेको पञ्च नेता, अहिलेको प्रजातन्त्रवादी । उसले ब्रान्टलाई र आफ्नी लुसीलाई नियाली–नियालीकन हेर्दै तिनका व्यक्तित्वको ओजन आँखै–आँखाले तौल्यो । ब्रान्टका मुखेन्जी आफ्नी लुसी उसलाई हात्तीका मुखेन्जी मुसोजस्तो लाग्यो । मुसो पनि कस्तो भने पेटभरि खान नपाएको, भिजेको र खकारमा लुटपुटिएको ।
‘कसको कुकुर हो यो ?’ उसले कौतुकमय स्वरमा सोध्यो ।
‘हाम्रा मालिकको,’ यन्त्रवत् रूपले सोनामले उत्तर दियो ।
‘नाउँ त होला नि मालिकको ?’
‘नाउँ के जाती गगनजङ्गबहादुर ।’