नागेन्द्रकुमार कर्ण

जलेश्वरनाथ महादेव मन्दिरबाहेक जलेश्वरको पहिचान के ? भन्ने प्रश्नमा जलेश्वरनाथ महादेव मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका पूर्वअध्यक्ष विश्वेश्वरप्रसाद साह अकमकिनु भयो। केहीबेर चुप लागेर उहाँले यो प्रश्न एकदमै गाह्रो भएको र अहिले केही भन्न नसकिने जवाफ दिनुभयो ।

त्यस्तै जलेश्वर उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीलाई पनि सोही प्रश्न गर्दा उहाँ पनि सोचमग्न हुनुभयो। “म त केही देख्दिनँ,” एक छिन सोचेर सुस्केरा हाल्दै चौधरीले विस्तार भन्नुभयो। दुई जना मात्र होइन, महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको पहिचान बावा जलेश्वरनाथ मन्दिरबाहेक अरू के ? भन्ने प्रश्नमा दर्जनौँ व्यक्ति निरुत्तर बने।

जलेश्वरमा कुनै पनि स्थानीय उत्पादन कोसेली, उपहार वा जलेश्वरनाथ महादेव मन्दिरको प्रसादका रूपमा पहिचान बनाउन नसकेका कारण सबै जना निरुत्तर बनेको बुझाइ यहाँका युवा अनुसन्धानकर्ता राकेशप्रसाद चौधरीको छ। जलेश्वरनाथ महादेव मन्दिरका बारेमा पुस्तकसमेत लेख्नुभएका अनुसन्धानकर्ता चौधरीले विगतमा अञ्चलको सदरमुकाम, सर्लाही, महोत्तरीको गोश्वारालगायतका पहिचान जलेश्वरले बनाए पनि जलेश्वर अहिले पहिचानको खोजीमा रहेको बताउनुभयो ।

जलेश्वर महादेव मन्दिरमा पूजापाठ गर्न अथवा घुमघाम गर्न आउनेले स्थानीयसँग एउटै प्रश्न गर्छन् कि जलेश्वरबाट उपहारका रूपमा के सामान लिएर जान सकिन्छ ? पर्यटक तथा श्रद्धालुले सोध्ने यस्तो प्रश्नको जवाफ स्थानीयसँग हुँदैन। पसलमा जाँदा विदेशी सामानवाहेक स्थानीयको कुनै उत्पादन नै छैन । खाना तथा नास्ता पसलमा समेत परम्परागत खानेकुरा पाउन छोडेको युवा चौधरीको गुनासो छ। भगवान् महादेवमाथि चढाइएको प्रसाद नखाने मान्यता रहेका कारण जलेश्वरमा कुनै विशेष परिकारको प्रसाद नरहे पनि विगतमा भगवान् शिवको प्रिय मानिने

भाङको पेंडा, मालपुवा, लड्लत्ती (मिठाई) चिनियाँ लड्डु (चिनीबाट बनाइएको गोलो) तथा बतासा (चिनीले

बनाइएको चार कोण भएको मिठाई) प्रसादका रूपमा ग्रहण गर्ने गरिएको बुढापाका बताउँछन् ।

जलेश्वरनाथ मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका पूर्वअध्यक्ष साहले विगतमा मन्दिरनजिकको पसलमा भाङको पँडा बिक्री हुने गरे पनि त्यो कोसेली, उपहार वा प्रसाद नभएको बताउनुभयो। विगतमा रक्सी (तारीबाहेक) को उपलब्धता कम भएकाले यसको प्रयोग देखिए पनि चिनीवाट बनाइएको लड्डु तथा बतासाको प्रयोग कोसेलीका रूपमा देखिएको बताउनुभयो ।

उद्योग वाणिज्य सङ्घका महासचिव चौधरीले विगतमा जलेश्वर माछाका लागि प्रसिद्ध रहे पनि माछाको ब्रान्डिङ र प्याकेजिङ नहुँदा सो पहिचान पनि लोप हुँदै गएको बताउनुभयो। यद्यपि महोत्तरीको माछाले मधेशको चार/पाँच वटा जिल्ला धान्न सफल भएकाले यसलाई पहिचानका रूपमा लग्न सकिनेमा आफू विश्वस्त रहेको बताउनुभयो। जलेश्वरको पानीमा आर्सेनिक नभएका कारण माछाको स्वाद अन्य ठाउँको तुलनामा राम्रो भएकाले काठमाडौँलगायतका सहरमा अझै पनि जलेश्वरको माछा यहाँ पाइन्छ भनेर प्रचारप्रसार गर्ने गरिएको बुझाइ उहाँको छ।

त्यसै गरी जलेश्वर, मटिहानी क्षेत्रमा रहेको पोखरीमा मवानको उपलब्धता बढी भए‌काले यसलाई यहाँ आउने पर्यटकलाई कोसेलीका रूपमा लग्न प्रोत्साहित गर्न सकिने र यस क्षेत्रको पहिचान बनाउन सकिने बुझाइ महासचिव चौधरीको छ।

जलमा विराजमान रहनुभएका बाबा जलेश्वरनाथको पानीबाट चर्मरोग निको हुने विश्वास रहिआएकाले पनि बाबा जलेश्वरनाथ बस्ने गुफाको पानीमा फूल, बेलपत्र, मालालगायतका सामग्री राख्न नदिई सफा पानीलाई ब्रान्डिङ गर्ने हो भने राम्रो हुन सक्ने बुझाइ धेरैको छ। जलेश्वर नगरपालिका-२ बस्ने दिपुकुमार साहले त्योबाहेक जलेश्वरनाथको मूर्ति, लकेट, कोटमा लगाइने व्याच बनाएर पनि कोसेलीका रूपमा प्रयोग गर्न सकिने जानकारी दिनुभयो।

हस्तकलाका सामग्रीलाई व्यावसायिक रूप दिन भिजिट जलेश्वर अभियानले जनजागरण गरिरहेको छ। यस अभियानमा व्यवसायी तथा स्थानीय सरकारले सहयोगीको भूमिका खेलेमा यहाँ एउटा निश्चित कोसेलीको ब्रान्ड बन्ने अधिकांश युवाको भनाइ छ तर ब्रान्ड कसले बनाउने विषयमा सर्वपक्षीय समन्वय र सहकार्यको आवश्यकता रहेको युवाले जोड दिएका छन् ।

– गाेरखापत्रबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय