भण्टाको उत्पत्ति चीन, नेपाल तथा भारतको गर्मी क्षेत्रबाट भएको मानिन्छ। गोलभेंडा र भण्टा एउटै परिवारमा पर्दछन् र नेपालमा प्रयोग गरिने फल तरकारीमा गोलभेडापछि भण्टाकै स्थान आउँछ। पोषणको दृष्टिकोणबाट भण्टामा पनि गोलभेंडामा जस्तै भिटामिन ए.बि.सि. तथा खनिज पदार्थमा क्याल्सियम, फोस्फोरस, फलाम र प्रोटिन प्राप्त हुन्छ । भण्टालाई तराकारीको रुपमा उपयोग गरिन्छ ।
हावापानीः
भण्टातराईको लागि हिउँदे बाली, नदी किनारका होचा बेंसी र खोंच क्षेत्रको लागि बसन्त बाली र मध्य पहाडको लागि गर्मी तथा वर्षे बाली हो । भन्टा न्यानो तथा गर्मी मौसम मन पराउने बाली हो । बीउ उम्रनको लागि २३–२८ डि.से. तापक्रमको आवश्यकता पर्दछ भने फल लाग्नको लागि अधिकतम तापक्रम २३–३२ डि.से. हो ।
वानस्पतिका विवरण तथा जातहरू :
भण्टा कडा डाँठ हुने झाडी वर्गको मौसमी (१वर्षे) बिरुवा हो । कुनै कुनै जातका भण्टाको पातको उल्टोपट्टि भागमा र डाँठमा समेत काँडा पाइन्छ । सेतो, पहेंलो, खैरो र बैजनी, प्याजी, गुलाबी र हरियो आदि रङ्का भण्टा पाइन्छन् । नेपालमा प्रचलित जातहरूमा हरियो, प्याजी र बैजनी रङ्गका छन् । फलको रङ्ग अनुसार पातको पनि केही हदसम्म रङ्ग मिल्दछ । त्यसैले नयाँ पातको रङ्ग हेरेर फलको रङ्ग अनुमान गर्न सकिन्छ ।
नेपालमा प्रचलित जातहरूः
१. पुसा परपल लङ
२. पुसाक्रान्ती
३. पुसा क्लस्टर
४. नुर्की
५. सर्लाही ग्रिन
६. पोखरा लुर्की
बाली लगाउने समयः
तराईमा भाद्र असोजमा बिरुवा सारेर मंसिरदेखि माघसम्म फल लिइन्छ । बेसी तथा गर्मी खोंच क्षेत्रमा माघ फागुनमा बेर्नासारेर वैशाखदेखि असारसम्म र मध्य पहाडमा चैत्र वैशाखमा बिरुवा सारेर असारदेखि भाद्रसम्म फल लिन सकिन्छ ।
बेनको तयारी तथा बीउ दर :
एक रोपनी जमिनको लागि २५–३० ग्राम बीउ आवश्यकता पर्दछ । चार वर्गमिटरको ब्याडमा ८ के.जी. राम्ररी कुहिएको गोबर मल, ८० ग्राम डि.ए.पी. २५ ग्राम म्युरिएट अफ पोटास बीउ रोप्नुअघि ब्याडको माटोमा मिलाउनुपर्छ । बेर्ना उमेर ४–५ पाते भएपछि सार्न योग्य हुन्छ ।
जमिनको तयारी तथा मलखाद :
भण्टा पानी जम्ने जमिनमा खेती गर्न सकिँदैन । चिम्ट्याइलो माटोमा भण्टा खेती गर्दा आवश्यकता भन्दा बढि सिंचाई दिइयो भने ओइलिने र जरा कुहिने रोग बढि लाग्दछ । हल्का दोमट वा बलौटे दोमट माटो भण्टाको लागि उपयोगी हुन्छ । जमिनको तयारी गर्दा ३०–३५ से.मि.गहिरो जोताइपछि २–३ पटक जोताइ र डल्ला फोर्ने कार्य गर्नुपर्छ । दोश्रो जोताइमा गोबरमल राम्ररी मिलाई दिनुपर्छ ।
एक रोपनी जमिनको लागि १००० के.जी. राम्ररी कुहिएको या पाकेको गोबरमल वा कम्पोष्टमल, फास्फोरसको आवश्यकता पर्दछ । गोबरमल जमिन तयार गर्दा फोस्फोरस र पोटास तथा आधा भाग नाइट्रोजन ड्याङ बनाउँदा माटोमा राम्ररी मिलाईदिनुपर्छ । बाँकी २ के.जि.फूल फुल्न शुरु गरेपछि बोटको वरिपरि आँठी आकारमा प्रयोग गर्नुपर्छ ।
बेर्ना सार्ने :
चार÷पाँच पाते राम्रा स्वस्थ विस्वालाई पंक्तिबाट पंक्तिको फरक हिउँदमा ६० से.मि. र वर्षामा ७५ से.मि. तथा र बोटबाट बोटको दुरी ४५ से.मि. हुने गरी हिउँदमा १ ड्याङमा २ हार र वर्षामा १ ड्याङमा १ हार बेर्ना सार्नुपर्छ । यसरी या सार्न हिउँदमा ९० से.मि. चौडा र वर्षामा ४५ से.मि. चौडा ड्याङ बनाउनुपर्छ। ड्याङको बीचमा ३०
से.मि. को कुलेसो राख्नुपर्छ ।
सोडमेल र सिंचाई :
भण्टाको लागि लगाएको खेतको माटो सधै खुकुलो र झारपात रहित हुनुपर्छ । यसको लागि विरुवा सारेको २०–२५ दिनपछि हल्का गोडाइ गरी उकेरा दिनुपर्छ र ४०–५० दिनपछि फेरी गोडेर उकेरा दिनुपर्छ । त्यसपछि समय–समयमा झार उखेल्ने काम गर्नुपर्छ । पहिलो र दोश्रो गोडाइको समयमा आवश्यकता हेरी युरिया मल पनि टपड्रेस गर्नु बेस हुन्छ ।
भण्टाको खेतमा सिंचाई गर्दा हिउँदमा १०–१५ दिनको फरकमा र सुख्खा तथा गर्मी मौसममा ७–१० दिनको फरकमा गर्नुपर्छ ।
बाली संरक्षणः
रोगहरूः
१. पातलो भोप्ले रोग
लक्षणः– पातमा गोलाकार वा अन्य आकारमा खैरो रङ्गका थोप्लाहरू हुन्छन् ।
रोकथामः– डाइथेन ४५ विषादी २ ग्राम प्रतिलिटर पानीमा मिसाई छर्कने।
२. फोमोप्सिस डढ़वा र फल सड्ने रोग
लक्षणः– माटोलाई छोएका पातहरूमा पहिला दागहरू देखापर्दछन् । यो रोगले डाँठमा समेत आक्रमण गरी बोक्रा खैरो रङ्गको भई सड्दछ । फलमा बाहिर गडेका पहेंला दागहरू र भित्र पुरै सुख्खा किसिमले सड्दछ ।
रोकथामः– डाइथेन एम ४५
कीराहरूः
१. डाँठ र फलको गवारो
पहिचानः– वयस्क पुतलीको दुवै जोर पखेटा सेतो रङ्गका हुन्छन् । हानीकारक अवस्था लाभ्रे (झुसिलकीराजस्तै) हो । जसको रङ्ग हलुका गुलापÞmी हुन्छ ।
रोकथामः– कौरा लागेको डाँठ र फल समयमै जम्मा गरी नष्ट गर्ने ।
– ल्युसिन ल्युरको प्रयोग गर्ने, नेट हाउस भित्र भन्टाको खेतीगर्ने ।
२. पोप्ले खपटे
पहिचान ः– पखेटामा १२ वटा र २८ वटा काला थोप्ला भएका अर्धगोलाकार खैरी रङ्गका खपटे हुन्छन् । लाभ्रे पहेँलो रङ्गका शरीरभरी कौडा भएका हुन्छन् । दुवैले क्षति गर्दछन् ।
रोकथाम ः– तालिम तथा काँटछाँटमा ध्यान दिने, ल्युरको प्रयोग गर्ने र नेट हाउस भित्र खेती गर्ने ।
३. लाही कीरा
पहिचान ः– वयस्क लाही सानो, हरियो, पहेंलो, मिसिएको हरियो अथवा कालो रङ्गको हुन्छ ।
रोकथाम ः– थोप्ले खपटेलाई जस्तै ।
४. फट्के कीरा
पहिचान ः– वयस्क कीरा हल्का हरियो रङ्गको हुन्छ । तर मौसम अनुसार रङ्ग बदलिन सक्छ । यी कीरा छड्के हिँड्दछन् र फट्टफट्ट उफ्रन्छन् ।
५. पात बेरुवा
पहिचानः– पुतली हल्का सेतो रङ्गको हुन्छ र बाङ्गटिङ्ग धर्सा हुन्छन् । लाभ्रेको रङ्ग रातो हुन्छ र पातला झुस हुन्छन् । लाभ्रेले मुण्टाका कलिला पातहरू बेरेरभित्र बसी खान्छ ।
रोकथामः– माथि बताइएका विषादिको यसमा पनि प्रयोग गर्न सकिन्छ ।
बालीको तयारी र उत्पादन
बाली सारेको ६० देखि ७५ दिनमा पहिलो बाली तयार हुन्छ । तरकारीको लागि भण्टा कलिलो अवस्थामा नै टिप्नुपर्छ । फूल झरेको ७–१० दिनमा भण्टा टिप्नुपर्छ । यस प्रकार प्रत्येक ७–१० दिनको फरकमा भष्टा टिप्नुपर्छ । यसरी टिप्दा प्रति बोट १ देखि १.५ के. जि. सम्म ताजा तरकारी उत्पादन हुन्छ । प्रति रोपनी १५०० के.जि. देखि २५०० के. जि. सम्म ताजा भण्टा उत्पादन हुन्छ ।
भण्डारण तथा बजार व्यवस्था
साधारण अवस्थामा गर्मीमा १–२ दिन र जाडोमा ३–४ दिनसम्म भण्टालाई भण्डारण गर्न सकिन्छ । १० डि.से. भन्दा कम तापक्रम र ८५ प्रतिशतभन्दा माथि सापेक्षिक आर्द्रता भएको भण्डारमा ७ देखि १० दिनसम्म भण्डार गर्न सकिन्छ । भण्टा टिपेर बजारमा पठाउनुअघि राम्ररी पानीले पखाल्नुपर्छ । यसो गर्नाले भण्टा चम्किलो देखिने र कुहिने कम हुन्छ। टाढाको बजारमा पठाउँदा खुकुलोसँग तह लगाएर डोको वा टोकरीमा पठाउनुपर्छ ।





