मनिषा मण्डल
लहान (सिरहा) / श्री जनता माध्यमिक विद्यालय बरियारपट्टी, सिरहाका शिक्षक रामचन्द्र यादवले मधेश प्रदेशका मुख्यमन्त्री तथा मुख्यमन्त्री कार्यालय, जनकपुरधाम समक्ष सम्बोधन गर्दै मधेश प्रदेशको एसईई तथा कक्षा १२ को परीक्षालाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन माग गर्दै एक खुला पत्रमा शिक्षा प्रणालीमा देखिएका अनियमितताप्रति गम्भीर ध्यानाकर्षण गराएका हुन् ।
आज मंगलवार ईमेल र हुलाक मार्फत पठाएको पत्रमा उल्लेख भएअनुसार, पछिल्ला वर्षहरूमा नकल प्रवृत्ति, परीक्षा केन्द्रमा हुने सेटिङ, कमजोर अनुगमन जस्ता समस्याले मधेश प्रदेशको शिक्षा क्षेत्र निरन्तर कमजोर हुँदै गएको जनाइएको छ। यही अवस्थामा २०८२ साल चैत १९ गतेदेखि सञ्चालन हुन लागेका एसईई तथा कक्षा १२ को परीक्षामा पूर्ण शुद्धता र पारदर्शिता अनिवार्य भएको पत्रमा उल्लेख छ।
यादवले मुख्यमन्त्रीलाई सम्बोधन गर्दै लेखेका छन्— “शिक्षा जस्तो संवेदनशील क्षेत्रमा सुशासन, पारदर्शिता र कडाइका साथ परीक्षा सञ्चालन गर्नु अत्यावश्यक छ। मधेश प्रदेशको भविष्य बचाउन परीक्षा प्रणालीलाई व्यवस्थित, मर्यादित र नकलमुक्त बनाउनु अपरिहार्य छ।”
उहाँले गत वर्षहरूमा देखिएको विस्तृत नकल, प्रभाव र मिलेमतो जस्ता प्रवृत्तिले परीक्षा प्रणालीको विश्वसनीयतामै प्रश्न उठाएको बताउँदै यस वर्ष भने कडा अनुगमन, व्यवस्थित सुरक्षाकर्मी परिचालन, सीसीटीभी तथा प्रभाव रोकथामका उपायहरू अविलम्ब लागू गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
खुला पत्रमा अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरूको सामूहिक चिन्ता उठान गरिएको छ र शिक्षा सुधारका लागि मुख्यमन्त्रीको सक्रिय हस्तक्षेप आवश्यक रहेको उल्लेख छ।
अन्त्यमा, यादवले भनेका छन्—“यदि परीक्षा प्रणालीलाई कडाइका साथ व्यवस्थापन गरियो भने मात्र मधेश प्रदेशको शिक्षा क्षेत्र थप बिग्रनबाट जोगिन्छ र विद्यार्थीहरू योग्यताको आधारमा अघि बढ्ने वातावरण बन्नेछ ।”






