मनिषा मण्डल
लहान, सिरहा । लहान नगरपालिका–१ स्थित तरकारी बजारमा रहेको रघुविर होटल पछिल्लो समय लहानको सबैभन्दा चर्चित चिया पसलको रुपमा स्थापित हुँदै गएको छ ।
बिहान बेलुका चिया खाने समय होटलमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको घुँइचो लाग्ने गरेको छ ।
सञ्चालकका अनुसार यहाँ दैनिक रूपमा ठूला होटलका सञ्चालक, पत्रकार, साहित्यकार , समाजसेवी, व्यापारी, राजनीतिज्ञ तथा सर्वसाधारण चियाको स्वाद लिन पुग्छन्। चिया मात्र नभई आपसी कुराकानी, परिचय आदान–प्रदान र समसामयिक विषयमा छलफल गर्न समेत यो स्थान महत्त्वपूर्ण थलोको रूपमा चिनिन्छ ।

लहानका मैथिली कवि अर्जुन प्रसाद गुप्ता ” दर्दिला” भन्नुहुन्छ, “रघुविर होटल कुनै सामान्य पसल होइन, यो लहानको एउटा चिनारी जस्तै हुन लागेकाे छ । यहाँ चिया पिउँदा अपनत्वको आभास हुन्छ ।”
सर्वसुलभ दर र आत्मीय सेवाका कारण होटलले छोटो समयमा सबैको मन जित्न सफल भएको छ। यहाँको चियाको स्वाद र आतिथ्य सत्कारकै कारण बिहान र बेलुका होटल सधैं भरिभराउ हुने गर्दछ ।
चियाकाे साथै खाजामा दहि , चिउरा, पकाैडी , चप र मिठाईका परिकारहरु विक्री हुँदै आइरहेकाे हाेटलका संचालक कृष्णा साहले बताउनुभयाे ।






